म्याराडोनामाथि खनिए बिलार्डो र ग्रोन्डोना
१९८६ मा अर्जेन्टिनालाई विश्वकप दिलाएको तथा त्यसको चार वर्षपछि उपविजेता बनाएको केही जस आफूलाई पनि दिन खोज्छन् बिलार्डो
ब्युनर्स आयर्स/ डियगो म्याराडोनाद्वारा अर्जेन्टिनी राष्ट्रिय फुटबल प्रशिक्षकबाट आफूलाई हटाउन पर्दापछाडिबाट खेल खेलेको आरोप लगाइएका कार्लोस बिलार्डोले पूर्वमहान् खेलाडीले आफ्नो कमजोरीलाई ढाकछोप गर्न त्यस्तो आरोप लगाएको दाबी गरेका छन् । म्याराडोना नेतृत्वमा रहेको टोलीले १९८६ मा विश्वकप जित्दा र १९९० मा उपविजेता रहँदा टोली प्रशिक्षक रहेका बिलार्डोले अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीको भलाइका लागि आफूले अहिलेसम्म केही नबोलेको दाबी पनि गरे । बुधबार आफ्नो १० मिनेट लामो भाषणमा म्याराडोनाले अर्जेन्टिनी राष्ट्रिय टोलीका निर्देशकसमेत रहेका बिलार्डोले आफूविरुद्ध अनावश्यक गलत व्यवहार गरेको तथा अर्जेन्टिनी फुटबल संघका अध्यक्ष -एएफए) जुलियो ग्रोन्डोनाले झुटो बोलेको आरोप लगाएका थिए । मंगलबार अर्जेन्टिनी फुटबल संघले आफ्नो अनुबन्ध नबढाउने निर्णयको प्रतिउत्तरमा म्याराडोनाले त्यो आक्रोश पोखेका हुन् । 'अहिलेसम्म मैले टोलीका लागि भलाइ हुने काम मात्र गरेको छु, विश्वकप र खेलाडीका लागि पनि,' बिलार्डोले भने, 'म अनावश्यक विवाद सिर्जना गर्न चाहन्न । तर, जुनै कुराको पनि हद हुन्छ । म आफूलाई योभन्दा बढी लज्जित हुन दिन्न । शुभचिन्तकहरू मेरो संयम देखेर चकित बनेका छन् ।' साथै उनले आफूमाथि लगाइएका अरोपको खण्डन गर्न अर्को साता पत्रकार सम्मेलन गर्ने पनि बताए । उता, एएफएले म्याराडोनालाई आफ्ना प्रशिक्षण टोलीमा रहेका सातजनालाई हटाएको खण्डमा २०१४ को विश्वकपसम्म प्रशिक्षक कायम राख्ने जानकारी दिएको थियो । तर, म्याराडोनाले संघको सो आग्रह नमान्दा सो पदबाट हट्नुपर्यो ।'तिमीले सधैँ आफ्ना साथीभाइलाई जागिर दिन सक्दैनौँ,' बिलार्डोले भने । १९८६ मा अर्जेन्टिनालाई विश्वकप दिलाएको तथा त्यसको चार वर्षपछि उपविजेता बनाएको केही जस आफूलाई पनि दिन खोज्ने बिलार्डोले म्याराडोनाका कारण आफू ओझेलमा परेको पनि बताए । 'म विश्व च्याम्पियन र उपविजेता हुँ,' उनले भने, 'म म्याराडोनाप्रति होइन म्याराडोना मप्रति आशक्त थिए । उसले ८४ र ८५ मा केही गर्न सकेको थिएन ।' ग्रोन्डोनाले पनि म्याराडोनाले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै आफूले कहिल्यै झुटो नबोलेको दाबी गरे । साथै, उनले केही सर्तसहित म्याराडोनालाई प्रशिक्षकको प्रस्ताव गरेको बताए । 'उनी टोलीबाहिर जाँदा मलाई पनि दुःख लागेको छ । र, माफी पनि माग्छु,' ग्रोन्डोनाले भने, 'तर, मैले म्याराडोनासँग झुटो बोलेको थिइन । मैले उनलाई निरन्तरताका लागि प्रस्ताव गरेको थिएँ, तर उनले सर्त बुझेनन् ।' प्रशिक्षण अनुभवविना २१ महिनाअगाडि म्याराडोनालाई प्रशिक्षक बनाइँदा अर्जेन्टिनी फुटबल समर्थकले मिश्रति मत जनाएका थिए । विश्वकप छनोट चरणमा सधैँ दबाबमा रहँदा 'रोलर कोस्टर' झैँ उनले एक सय खेलाडीलाई प्रयोग गर्दै अन्ततः विश्वकपका लागि २३ खेलाडी छानेका थिए । जसमा, इन्टर मिलानका डिफेन्डर जेभियर जेनेटी र मिडफिल्डर इस्टेबान काम्बियासोलाई उनले टोलीमा पारेका थिएनन् । त्यसको सट्टामा उनले गत मेमा मात्रै पहिलोपटक हाइटीविरुद्ध अन्तर्राष्ट्रिय फुटबल खेलेका डिफेन्डर एरियल ग्रेसलाई टोलीमा पारेका थिए । क्वार्टरफाइनलमा जर्मनीसँग ४-० ले हार बेहोर्दै विश्वकपबाट बाहिरिएको अर्जेन्टिनाको कमजोरी डिफेन्स र मिडफिल्डर रहेको स्वयं जर्मन प्रशिक्षक जोकिम लोले बताएका थिए ।



del.icio.us
Digg
Post your comment