आइसिएलबाट मुक्त हुने चाहना
लाहोर/ आफ्नो मुलुककै प्रतिनिधित्व गर्ने मनसायबाट मध्यक्रमका ब्याट्सम्यान मोहम्मद युसुफका साथै बलिङ अलराउन्डर अब्दुल रजाक र राना नावेद उल हसनले इन्डियन क्रिकेट लिग (आइसिएल) छाडेपछि पाकिस्तानका अन्य केही क्रिकेटरले पनि सो लिग त्याग्ने विचार बनाएका छन् । आइसिएलमा आबद्ध २२ पाकिस्तानी क्रिकेटरमध्ये एक हसन रजाका अनुसार आइसिएललाई खेलाडी फुकुवा गराउने पत्र पठाउने तयारी भइरहेको छ । 'आइसिएलले हामीसँग सहकार्य गर्यो तथा आर्थिक रूपमा हामीलाई फाइदा पनि भयो । तर, अब मुलुककै लागि खेल्ने समय आएको छ । हामीले अहिले पनि राष्ट्रिय टोली तथा घरेलु लिग खेल्नसक्ने सम्भावना छ,' रजाले भने । रजाका अनुसार आइसिएलको भविष्य अनिश्चित रहेका कारण खेलाडीहरू मुलुककै टोली वा अन्य कतै खेल्न चाहन्छन् । 'हामीले अहिले पनि आइसिएलबाट पछिल्ला केही महिनाको रकम पाउन बाँकी छ तथा आइसिएलको भविष्य पनि अनिश्चित छ,' रजाले भने ।



del.icio.us
Digg
Post your comment