तलब निर्धारणको तजबिजी सिद्धान्त
खपिनसक्नु भएरै होला, बजेटभाषणको लगत्तै निजामती कर्मचारी विरोधमा उत्रे । नेपालमा निजामती कर्मचारी विडम्बनाको वस्तु बनेर रहेको छ । अन्य देशसँग के तुलना गर्नु, सार्क मुलुककै दाँजोमा नेपालका निजामती कर्मचारीको तलब-सुविधा यति न्यून छ कि, दरिद्र अवस्थामै देखिन्छ ।
मुलुकबाहिर पनि जानुपर्दैन, देशभित्रकै सरकारी संस्थानका कर्मचारीसँग तुलना गर्दा पनि कहालिलाग्दो नै छ । यति हुँदा पनि कर्मचारीको विचरा हालतप्रति जनताको सहानुभूति छैन । आफ्नै व्यवहार र कार्यशैलीको कारणले गर्दा कर्मचारीले जनताको सहानुभूति र माया प्राप्त गर्न नसकेका हुन् । जनताको सहानुभूति छैन भन्ने बुझेरै होला, यसपालि अर्थमन्त्री सुरेन्द्र पाण्डेले कर्मचारीलाई थाङ्नामा सुताइदिनुभयो । निजामती कर्मचारीको आफैँभित्रको खिचातानी पनि 'बार्गेनिङ पावर' क्षीण हुने कारण बनेको छ । ०४७/४८ मा निजामतीको तुलनामा सरकारी संस्थानका कर्मचारीको भत्ता-सुविधा ४/५ दोब्बर वृद्धि गरेपछि निजामती कर्मचारीले आवाज निकालेका थिए । आफ्नै साथीको त्यो आवाजलाई दबाउन निजामती कर्मचारीकै अर्को समूह 'आधा पेट खान्छौँ, सरकारलाई सहयोग गर्छौं' भन्ने नारा लगाउँदै जुलुस निकालिरहेका हुन्थ्यो । नेपालका निजामती कर्मचारी र बाहुन जातिमा भ्रातृत्वभावना छैन । जसरी एउटा बाहुनले अर्को बाहुनलाई नपन्छाई आफ्नो प्रगति असम्भव देख्छ, त्यस्तै एउटा निजामती कर्मचारीले अर्को कर्मचारीप्रति धुवाँ छुटाएर बसेको हुन्छ । यो सब बुझेरै सुरेन्द्र पाण्डेजीले निजामती कर्मचारीलाई ह्याकुलाले मिच्न खोजेका हुन् । नेपालमा कसैले कल्पनै नगरेको मूल्यवृद्धि यस वर्ष भयो । आर्थिक मन्दीले गर्दा विश्वभरि मूल्य घटिरहेकै वेला नेपालमा भने अर्थशास्त्रका सबै नियम तोडेर डरलाग्दो मूल्यवृद्धि भयो । अत्यन्त न्यून तलबमा जसोतसो गुजारा गरिरहेका निजामती कर्मचारीलाई अप्रत्यासित मूल्यवृद्धिले ढाडै भाँच्यो । मूल्यवृद्धिको बोझ थेग्न नसकेर थला परेका कर्मचारीलाई यसपालिको बजेटले त्राण देला भनेर सबैले अपेक्षा गरेका थिए । सबैको भावना बुझेर अर्थमन्त्रीले तलव वृद्धि गरिदिने वाचा-बन्धन गरेका पनि हुन् । राजनीतिक ग्ल्यामरका लागि तात्कालिक र सस्ता लोकपि्रय कार्यक्रम राख्न दबाब परेपछि 'कसैलाई सक्दिन, कान्छी बजुलाई' उखान चरितार्थ गर्दै अन्तिम क्षणमा आएर अर्थमन्त्रीले तलव वृद्धिको 'आइटम' झििकदिएका हुन् । नेपालका निजामती कर्मचारीले आफ्नो स्थान बनाउन नसकेकै कारणले होला हरेक अर्थमन्त्रीले अपमानजनक तवरले अत्यन्तै अवैज्ञानिक, हचुवा र तजबिजी तलबमान तोक्ने गर्छन् । अरूलाई देखाउन र कर्मचारीलाई झुक्याउन हरेक सरकारले तलब निर्धारण आयोग त गठन गर्छन्, तर आयोगको प्रतिवेदन कुनै मन्त्रीले एक अक्षर पनि पढ्दैनन् । धेरै टाढा जानुपर्दैन, छिमेकी देश भारतमा तलब आयोगको प्रतिवेदन अक्षरशः लागू हुन्छ । जापानमा नेसनल पर्सनल ल अथोरिटीले सार्वजनिक संस्थान र निजी क्षेत्रका इन्टरप्राइजेजका कर्मचारीले पठाउने तलब, भत्ता र सुविधालाई समेत अध्ययन गरी प्रत्येक वर्ष डायट र प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गर्छ । र, त्यही प्रतिवेदनअनुरूप तलब-भत्तामा परिमार्जन हुन्छ । नेपालमा जस्तो गाईजात्रे तालले सरकारी संस्थान र निजामती कर्मचारीको तलब सुविधामा आकाश-जमिनको अन्तर हुँदैन । सरकारी संस्थान मात्रै होइन, त्यहाँ निजी क्षेत्रका इन्टरप्राइजेज र निजामती कर्मचारीले पाउने तलब सुविधामा पनि खासै अन्तर हुँदैन । सरकारको नेतृत्व लिने मन्त्रीहरू कर्मचारीको तलब-भत्ता र सुविधाप्रति संवेदनशील नभए पनि पटक-पटक भएका योजनाका समीक्षामा प्रायः यस्तो निष्कर्ष निकालिन्छ, 'सार्वजनिक प्रशासन सञ्चालन गर्ने दायित्व बोकेका कर्मचारीका लागि कम्तीमा दैनिक गुजारा गर्न सक्ने पारिश्रमिकको व्यवस्था हुन सकेको छैन । छिमेकी मुलुकको दाँजोमा समेत अति नै न्यून तलब सुविधाले गर्दा विपन्न अवस्थामा राखिएको कारण हाम्रो कर्मचारीतन्त्र विकास प्रशासनमा बढी अग्रसर हुन सकेको छैन । सार्वजनिक प्रशासनप्रति योग्य, सक्षम र इमानदार व्यक्तिको आकर्षण कम हुँदै गएको छ । कर्मचारीको तलब सुविधा जीवन निर्वाहका लागि अत्यन्तै अपर्याप्त र छिमेकी मुलुकको तुलनामा दयनीय छ । यो सिंहदरबारभित्रै भएको राष्ट्रिय योजना आयोगको समीक्षाको निष्कर्ष हो । कर्मचारीको तलब-भत्ता र सुविधा निर्धारण गर्ने सिद्धान्तहरू- आदर्श रोजगारदाताको सिद्धान्त, समान कामका लागि समान तलबको सिद्धान्त, माग र आपूर्तिको सिद्धान्त, जीवन निर्वाहको सिद्धान्त र न्यायोचित तुलनाको सिद्धान्त हुन् । यी पाँच सिद्धान्तमध्ये पनि बीसौँ शताब्दीको उत्तरार्धमा पछिल्ला दुईवटा सिद्धान्त मात्र प्रचलनमा छन् । सभ्य समाज र विकसित मुलुकले त न्यायोचित तुलनाको सिद्धान्तलाई नै अपनाएका छन् । माथि उल्लेख गरिएको जापानको अभ्यास यही पछिल्लो सिद्धान्तमा आधारित छ । नेपालका निजामती सेवा यति दयनीय र टीठलाग्दो हालतमा पुग्नुमा निजामती कर्मचारी नै दोषी छन् । शक्तिकेन्द्रमा धाउने, रिझाउने, आफू सुरक्षित रहेर बेस्सरी अवसरको फाइदा लिने र मुन्तिरकालाई दलाउने जम्मा यत्ति मात्र निजामती कर्मचारीको पहिचान बनेको छ । ६/७ वर्षअघि विद्यावारिधि गरेका एकजना सहसचिव -जसलाई सबैले डि.आर.टि.आर, भनेर चिन्थे) ले शक्तिकेन्द्रमा धाएको र चाकरी गरेको देखेर सबैले घीन मान्थे । आफ्नो पहिचान नबनाउने र स्वाभिमानको रक्षा नगर्ने भएकाले नै सुरेन्द्र पाण्डेजीले यत्रोविधि उपेक्षा गरेका हुन् । तर, जे-जस्तो भए पनि महँगी धपक्कै बलेको यो वेलामा सामान्य जीवन निर्वाहकै लागि भए पनि कर्मचारीमाथि दया, माया, कृपा गरिदिनैपथ्र्यो । यति पनि ख्याल नगर्नुचाहिँ अत्याचारको पराकाष्ठा नै हो ।



del.icio.us
Digg
nep ma corruption increase hunu ko main cause yahi ho. chor neta haru
afno bhanda aaruko bhlai dekhdaunan.
je gare pani tolerate huncha bhaner
salary increase bhayan.
Post your comment