संस्थापक र साधारण सेयरका समस्या
कम्पनी ऐनमा प्रबन्धपत्र तथा नियमावलीमा लेखिएका कुरालाई मन्जुर गरी संस्थापकका हैसियतले हस्ताक्षर गर्ने व्यक्तिलाई संस्थापक भनी परिभाषित गरिएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा पनि प्रबन्धपत्र तथा नियमावलीमा कम्तीमा एक सेयर लिन मन्जुर गरी संस्थापकका हैसियतले हस्ताक्षर गर्ने व्यक्ति सम्झनुपर्ने उल्लेख छ । विद्यमान कानुनी व्यवस्थाअनुसार विशेष परिस्थितिमा बाहेक बैंक वा वित्तीय संस्थाका संस्थापकले वित्तीय कारोबार सञ्चालन गरेको कम्तीमा पाँच वर्षसम्म आफ्ना नाममा रहेको सेयर बिक्री गर्न वा धितोबन्धक राख्न सक्दैनन् । त्यसपछि पनि नेपाल राष्ट्र बैंकले तोकेको सर्तका अधीनमा रहेर मात्र बिक्री गर्न वा धितोबन्धक राख्न सकिनेछ । यसरी तोकिएका सर्तमा वित्तीय अनुशासनसम्बन्धी पक्ष रहेका छन् । संस्थापकको स्वामित्वमा रहेको सेयर नामसारी वा खरिद गरी लिने व्यक्ति वा संस्था पनि संस्थापक समूहमै रहने व्यवस्था पनि छ । मृत्यु वा पारिवारिक अंशबन्डा भएकामा बाहेक संस्थापकले आफ्नै समूहका संस्थापकलाई सेयर नामसारी वा बिक्री गर्नुपर्ने हुन्छ । सामान्यतः संस्थापक समूहको सेयर स्वामित्व कम्तीमा ५१ र बढीमा ७० प्रतिशतसम्म हुन्छ । र, सर्वसाधारण समूहको स्वामित्व ३० देखि ४९ प्रतिशतसम्म हुन्छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार हुने सेयर पनि सर्वसाधारणवर्गकै सेयर हो । एउटै कम्पनीको सेयर भए पनि संस्थापक र सवर्साधारणवर्गमा परेकै कारण फरक व्यवहार हुने गरेको छ । मूल्यका आधारमा यी दुई वर्गका सेयरबीच ठूलै अन्तर छ । संस्थापक सेयरभन्दा सवर्साधारणको सेयर बढी आकर्षक मानिन्छ । संस्थापक समूहअन्तर्गतको सेयरमा तोकिएका सर्त तथा बन्देज नै यसका कारण हुन् । नयाँ बैंक तथा वित्तीय संस्था स्थापना गरिँदा नियामक निकायले आवश्यक न्यूनतम पुँजी, सम्भाव्यता अध्ययन, आवश्यकता, औचित्य र नियतका साथै संस्थापकका सम्बन्धमा योग्यता र उपयुक्ततासमेत परीक्षण गरिन्छ । यस्तो परीक्षणमा सम्बद्ध व्यक्तिका विश्वसनीयता, इमानदारी र सक्षमतालाई नियालिन्छ र उपयुक्त देखिएमा मात्र थप कारबाही अगाडि बढ्छ । र, वित्तीय अनुशासन, अभिलेख, प्रतिष्ठा र ख्यातिलाई पनि आधार बनाइन्छ । सर्वसाधारणबाट निक्षेप स्वीकार गर्ने संस्थाका संस्थापक तथा सञ्च्ाालकको नियत असल हुनुपर्ने भएकाले नै परीक्षण जरुरी पर्छ । अतः प्रस्तावित बैंक तथा वित्तीय संस्थाका संस्थापक तथा सञ्चालकसम्बन्धी जाँचमा राष्ट्र बैंक सन्तुष्ट भएमा मात्र वित्तीय कारोबार गर्ने इजाजतपत्र दिइन्छ । यसको अर्थ परीक्षित संस्थापकहरू सम्बन्धित बैंक तथा वित्तीय संस्थासँग केही समय सम्बद्ध रहिरहून् भन्ने हो । संस्थाले निश्चित गति लिन पनि सम्बद्ध संस्थापकहरू प्रतिबद्ध र समर्पित हुनैपर्छ । संस्थापक समूहअन्तर्गतको सेयर बिक्री गर्न वा धितोबन्धक राख्न पाँच वर्ष व्यतीत भइसकेपछि पनि राष्ट्र बैंकले तोकेका सर्तका अधीनमा रहेर मात्र बिक्री गर्न वा धितोबन्धक राख्नुपर्ने व्यवस्था व्यावहारिक नभएका तर्क पनि आएका छन्, जुन स्वाभाविक पनि हो । कुनै पनि नीतिगत व्यवस्था सदाका लागि सान्दर्भिक हुँदैन, यसमा समयानुकूल परिमार्जन गर्न सकिने लचकता पनि हुनुपर्छ । यिनै विभिन्न अवस्थालाई विचार गरी राष्ट्र बैंकले ०६४ माघमा नयाँ नीतिगत व्यवस्था गरेको छ । यसअन्तर्गत तोकिएका सर्तको अधीनमा रही ५१ प्रतिशतभन्दा बढी संस्थापक समूहको सेयर स्वामित्व रहेका बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीले चाहेमा कम्तीमा ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक समूहकै रहनेगरी बाँकी सेयर सर्वसाधारण सेयरसरह नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत कारोबार गर्नसकिने व्यवस्था गरिएको छ । मागअनुरूप सेयरको आपूर्ति सहज नभएकै कारणबाट पनि सेयर-बजारमा यदाकदा अस्वाभाविक उतार-चढाब आउने गरेको प्रसंग पनि यहाँ सान्दर्भिक देखिन्छ । तर, व्यवस्थापन र नियन्त्रणका हिसाबले कम्तीमा ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक समूहको कायम रहनु पनि आवश्यक हुन्छ र यो कम्पनी कानुनको सिद्धान्तअनुसार पनि उपयुक्त छ । यस्तो नयाँ नीतिले गर्दा संस्थापक सेयर खरिद-बिक्रीसम्बन्धी व्यवस्थामा केही सुधार हुनगई अव्यावहारिकता हट्छ, बजारमा सेयरको आपूर्ति सहज हुनगई मूल्य यथार्थ हुन्छ तथा सर्वसाधारणको स्वामित्व बढ्न जाँदा संस्थाको सञ्चालन र व्यवस्थापनमा समेत यस वर्गको समेत यथोचित प्रतिनिधित्व वा सहभागिता हुन्छ । यसबाट आंशिक रूपमा मात्र संस्थापक सेयर सर्वसाधारणवर्गमा परिणत हुने र संस्थ्ाापक समूहमा नै रहने बाँकी सेयरका सम्बन्धमा विद्यमान व्यवस्था यथावत् कायम रहेका छन् । यसैगरी साना सेयर लगानीकर्ताका लागि पनि प्रक्रियामा केही सरल गरिएको छ । उदाहरणका लागि ०६५ वैशाखदेखि चुक्ता पुँजीको एक प्रतिशत वा सोभन्दा कम सेयर लिएका संस्थापक सेयरधनीहरूका नाममा रहेको सेयर प्रचलित ऐन-कानुन तथा तोकिएका सर्तका अधीनमा रही खरिद-बिक्री गर्न राष्ट्र बैंकको स्वीकृति लिइरहनु नपर्ने व्यवस्था गरिएको छ । तोकिएका सर्त पूरा भए-नभएको हेर्ने काम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले गर्नुपर्ने हुन्छ । संस्थापक समूहको सेयर सर्वसाधारण समूहको सेयरमा परिणत हुँदा बजारमा सेयरको थप आपूर्ति हुनगई हाल प्रचलित सेयरको बजारमूल्यमा गिरावट आउनसक्ने भयले लगानीकर्ताहरूको एउटा समूह झस्केको हुनसक्छ । त्यसैले यस सम्बन्धमा विभिन्न तर्क र भ्रमले स्थान पाउने गरेका छन् । हालै मात्र नेपाल धितोपत्र बोर्डले एउटा सूचना सार्वजनिक गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावलीअनुरूप निष्कासन तथा बिक्री प्रबन्धकमार्फत बिक्री प्रस्ताव तयार बिक्री गर्न कुनै रोक नलगाइएको तथ्य प्रस्ट्याएकोे छ । संस्थापक सेयरलाई उच्च तरलताको गुण प्रदान गर्न, मागअनुरूप आपूर्ति सहज बनाई सेयर बजार सन्तुलन कायम राख्न तथा पब्लिक लिमिटेड कम्पनीको सिद्धान्तअनुरूप सर्वसाधारणको सहभागिता व्यापक गर्न पनि संस्थापक समूहको सेयरले सहज रूपमा बजार प्रवेश पाउनुपर्ने अवस्था देखिन्छ । (पौडेल नेपाल राष्ट्र बैंकसँग सम्बद्ध छन्)



del.icio.us
Digg
Post your comment