सत्ता-गल्लीमा भौँतारिन नचाहने सत्ताहरू
मधेस झर्दा एउटा परिधानमा देखिने र काठमाडौं उक्लिँदा अर्कै परिधानमा शोभित हुने जादुगरी खेल मधेसी राजनीतिका खेलाडीहरूको दिनचर्या भएको छ
एउटा नातिले आफूले लाएको स्यान्डो पुरानो भएर च्यातिएपछि घरअगाडि फालिदियो । हजुरबा जब प्रातःभ्रमणबाट फक्र्यो, ती कपडालाई टिप्यो र सफा गरी सिरानमुनि राखिदियो । दिन बित्दै गए । केही समयपछि नातिलाई मोटरसाइकल सफा गर्न पुरानो कपडा जरुरी भयो । तब हजुरआमाले पुरानो कपडा खोज्न थाली । उसको यो चिन्ता देखेर हजुरबाले त्यही सफा गरी राखिएको स्यान्डो दियो । त्यही पुरानो आपैले फालेको कपडा उपयोगमा आएको देख्दा नाति आपै लज्जित भयो । हजुरबाले भन्यो, 'बाबु ! पुरानोलाई फाल्नु हुँदैन । जतन गरी राखियो भने त्यो धेरै काम लाग्न सक्छ ।' आज पनि ती नाति हजुरबाको कथनलाई सम्झिरहन्छ । उसले त्यस उक्तिलाई जीवन-मन्त्रका रूपमा ग्रहण गरेको छ । ती हजुरबा हुनुहुन्थ्यो रामजनम तिवारी । लोकतान्त्रिक मधेसी राजनीतिका अविरल योद्धा रामजनम तिवारी 'बाबा' का नामले प्रसिद्ध हुनुभयो । विस ००३ देखि नै राजनीतिमा सक्रिय तिवारी प्रारम्भमा नेपाली कांगे्रससँग आबद्ध भई लोकतान्त्रिक आन्दोलनमा होमिनुभएको थियो । पछि ००८ सालमा नेपाली कांग्रेसबाट छुट्टएिर नेपाल तराई कांग्रेस स्थापना गर्नुभयो र सो पार्टीका महामन्त्रीसमेत हुनुभयो । त्यस पार्टीका अध्यक्ष हुनुहुन्थ्यो वेदानन्द झा । ०१५ मा जननायक बिपी कोइरालाको नेतृत्वमा सरकार बन्दा उहाँलाई पनि मन्त्रीको 'अफर' आएको थियो, तर उहाँले सत्ता राजनीति गर्दिनँ भनेर त्यसलाई अस्वीकार गर्नुभयो । नेपाली कांग्रेसका सुवर्णशमशेर निर्वासन त्यागेर नेपाल फर्किंदा तिवारी पनि उहाँसँगै फर्किनुभयो र तराई कांग्रेसलाई नेपाली कांग्रेसमा विलय गरी पार्टीमा क्रियाशील रहनुभयो । भारत प्रवासमा बस्नुहुँदा पञ्चायती सरकारले उहाँको सर्वस्वहरण गर्यो । पञ्चायतको समयमा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका कारण तिवारीले पटक-पटक जेलनेलको सजाय पाउनुभयो । यस क्रममा ०३९ सालमा उहाँले नेपाल सद्भावना परिषद् खोल्दा तत्कालीन सरकारले उहाँलाई अढाई वर्ष जेलमा राखेको थियो । ०४७ मा जनकपुर महाधिवेशनमा नेपाल सद्भावना पार्टी गठन गर्दा उहाँलाई मधेसी राजनीतिको 'सर्वमान्य नेता' बनाइयो । ०५० सालमा गजेन्द्रनारायण सिंहसँग मतभेद भएपछि उहाँ सो पार्टीबाट छुट्टनुभयो । र, उहाँले तत्काल नेपाल सद्भावना पार्टी 'आर' खोल्नुभयो र उहाँ त्यसको जीवनपर्यन्त अध्यक्ष रहनुभयो । ०५६ मा ८८ वर्षको उमेरमा उहाँको निधन भयो । बाबाको राजनीतिक दृष्टिकोणसँग मतभेद राख्नेहरू पनि उहाँको प्रजातन्त्रप्रतिको संघर्ष र प्रतिबद्धताका कारण उहाँलाई आदर गर्ने गर्थे । उहाँ मधेसी समुदायका प्रबल समर्थक एवं हितचिन्तक हुनुहुन्थ्यो, तर उहाँले यस नारालाई कहिल्यै पनि सत्ताप्राप्तिको भर्याङ बनाउनुभएन । तराई कांग्रेसदेखि नेपाल सद्भावना पार्टीसम्मका उहाँका सहयात्रीहरूले सत्ताको पोखरीमा डुबुल्की हाले तर उहाँ यस मामिलामा सदैव स्थितप्रज्ञ रहनुभयो । सधैँ 'एकला चलो रे' मन्त्रलाई आत्मसात् गरी आपनो ध्येय प्राप्तिका लागि लाग्नुभयो उहाँ । आप\mनो सिद्धान्त र मान्यताप्रति कहिल्यै पनि सम्झौता नगर्ने बाबा आपनो मनमा लागेको कुरा जस्तोसुकै व्यक्तिसामु बोल्न कहिल्यै पनि हच्किनुभएन । यो नै उहाँको विशेषता थियो । गान्धीवादी राजनीतिक दृष्टिकोणका अथक अनुयायी बाबा मधेसी राजनीतिको मात्र होइन, समग्रमा नेपाली राजनीतिका लागि एउटा प्रतीक-पात्र हुनुहुन्छ । यी प्रतीक-पात्र आपै"mमा एउटा समानान्तर सत्ता हुनुहुन्छ, जसले राजनीतिका गोटीहरू ओहोदाप्राप्तिका लागि चाल्नुभएन । 'जनजन'को सशक्तीकरण र 'लोक'को मजबुतीकरण नै उहाँको ध्येय थियो । अहिंसक माध्यमद्वारा परिवर्तन सम्भव छ भन्ने अटल विश्वास बोकेका उहाँ 'सत्ता आप"mैमा हिंसाका उत्पादक हो' भन्ने ठान्नुहुन्थ्यो । उहाँकै गोरेटोका अन्तिम यात्री हुनुहुन्थ्यो रामचन्द्र मिश्र जो पछिल्लो साता बित्नुभयो । महोत्तरी पिपराका रामचन्द्र मिश्रले पनि सत्ताको म्याराथनमा आफूलाई कहिल्यै उभ्याउनुभएन । जहिले पनि लोकहितका लागि बोल्दै रहनुभयो, लड्दै रहनुभयो र निरन्तर मुकाबिला गर्दै रहनुभयो । मधेस समस्याको एउटै उपचार मधेसलाई हुनुपर्छ स्वशासनको अधिकार भन्ने ध्येयलाई सदैव उहाँले उठाउँदै रहनुभयो । रामचन्द्र मिश्र र रामजनम तिवारीले एउटै राजनीतिक धारको अगुवाइ गरिरहनुभएको थियो । उहाँहरूले राजनीतिमा अहिंसा र सादगीको प्रयोग आत्मसात् गरेर जगसामु प्रदर्शन गर्नुभयो । सत्ताप्राप्ति कहिल्यै पनि जीवन-पर्याय भएन उहाँहरूका लागि । बिक्ने भए वा झुक्ने भए वा खेल्ने भए उहाँहरू सत्ताको शीर्षमा उहिल्यै उक्लिसक्नुहुन्थ्यो, तर त्यो बाटो उहाँहरूको गन्तव्य थिएन । रामचन्द्र मिश्रको पनि राजनीतिक सुरुआत कांगे्रसी पृष्ठभूमिबाटै भएको हो । उहाँले प्रजातन्त्र हरणपछिको अवस्थामा पटनामा भएको कांग्रेस सम्मेलनमा भारतीय भूमिबाट संघर्ष गर्ने र सशस्त्र माध्यमलाई प्रयोग गर्ने विचारको प्रतिवाद गर्नुभएको थियो । तर, शान्तिपूर्ण ढंगले जनताको राजनीति स्थापित हुनुपर्छ भन्ने प्रयास र पहलकै कारण उहाँ पटक-पटक पञ्चायती शासकबाट यातना सहनुभयो । उहाँले आन्तरिक औपनिवेशीकरणबाट मधेसीहरूको उन्मुक्तिका लागि प्रारम्भदेखि नै गजेन्द्रनारायण सिंहका सहयोगी भएर अगाडि आउनुभयो । रामचन्द्र जब मधेसी समुदायका कुरा गर्नुहुन्थ्यो त्यतिखेर उहाँमा पृथकतावादी सोच नभएर राष्ट्रिय स्पन्दनलाई स्पर्श गर्ने इमानदार आग्रह हुन्थ्यो । मधेसी परिधानमा सदैव सुसज्जित उहाँ भाषिक अधिकारका लागि पनि त्यत्तिकै कृतसंकल्परत हुनुहुन्थ्यो । उहाँले सम्झौता गर्न जानेको भए ०४६ को परिवर्तनपछि महत्त्वपूर्ण पदहरू ओगट्न सक्नुहुन्थ्यो, तर त्यो उहाँको रोजाइ नै भएन । सीमान्तकृत समुदायको उत्थानको सवालमा उहाँले गजेन्द्रनारायण सिंहसँग पनि असहमति राख्नुभयो, बहस गर्नुभयो र अन्त्यमा साथ नै छाड्नुभयो । उहाँले एक्लो भएर पनि आप\mनो राजनीतिक अडानका पक्षमा सतत पैरवी गर्दै रहनुभयो । मूलतः उहाँ लोकतन्त्रका त्यस्ता अपराजित योद्धा हुनुहुन्थ्यो, जो सदैव संघर्ष गर्न जान्दथ्यो । सडक उहाँका लागि पि्रय थलो थियो, किनभने त्यहाँ आममानिस (मामुली मान्छे) सँग संवाद र साक्षात्कार हुनसक्छ । विनोबा भावेको जीवन-दर्शन रामचन्द्रका लागि आराध्य थियो । उहाँले वर्तमान परिप्रेक्ष्यमा पनि त्यसलाई जीवनमा प्रयोग गरेर देखाउन सम्भव छ भनेर प्रदर्शन गर्नुभयो । पछिल्लो समयमा उहाँले आध्यात्मिक चिन्तक अरविन्दसँग प्रभावित भई आप\mनो गाउँ पिपरामा अरविन्द आश्रम पनि बनाउनुभएको थियो, जहाँ उहाँले आप\mनो पछिल्लो समय बिताउनुभयो । जीवन शेष हुनुअघि उहाँले लामो समय रुग्णतामा बिताउनुपर्यो । ०६३ पछि मधेसी राजनीति उत्कर्षमा आउन थालेपछि सत्ता र मधेसी राजनीति एक-अर्कासँग जोडिन पुगेका छन् । सत्तामा स्वामित्व नभएसम्म समुदायको सशक्तीकरण हुँदैन भन्ने कुरा त ठीक हो । तर, सत्ताका लागि सबै मूल्य-मान्यता विसर्जित गर्नु त सत्तालाई नै 'सत्य' देख्नु हो । जालझेलबाट प्राप्त भएको सत्ता न त स्थायी नै हुन्छ, न त परिवर्तनका आधार नै । मधेसी विद्रोहपछि पनि मधेसी राजनीतिलाई सत्ताको फोहोरी खेलसँग अलग राख्न सकिएन । मधेस झर्दा एउटा परिधानमा देखिने र काठमाडौं उक्लिँदा अर्को परिधानमा शोभित हुने जादुगरी खेल मधेसी राजनीतिका खेलाडीहरूको दिनचर्या भएको छ । राजनीति महँगो हुँदै गएको छ । राजनीतिलाई व्यापार बनाइएको छ । अडानहरू स्खलित भएका छन् । यस परिप्रेक्ष्यमा रामजनम र रामचन्द्रहरूको सम्झना धेरै आउँदो रहेछ । तर, उहाँहरूलाई बिर्सिइएको छ । रामचन्द्रलाई ज्युँदै हुँदा पनि विस्मृतिका गर्भमा राखिएको थियो । यहीँनिर बाबा रामजनमको पुरानो कपडाको प्रसंग सम्झना हुन आउँछ । उहाँहरूजस्ता राजनीतिका पुराना पात्रहरू आज पनि त्यत्तिकै जीवन्त र उपयोगी हुनुहुन्छ । जतिखेर मधेसी राजनीतिमा विसंगत पक्षहरू झांगिएका कारण शुद्धीकरणको खाँचो देख्न थालिएको छ, त्यतिखेर सरसफाइ गर्न उहाँहरूजस्ता पुराना वस्त्रहरू नै काम लाग्ने गर्छ । उहाँहरूको जीवन-चरित्र जगलाई आलोकित गर्नेखालको छ । परिधानविना शरीर नांगो देखिएजस्तै मधेसी राजनीतिमा मूल्यको राजनीतिलाई आत्मसात् गरेका यी अगुवाको वरणबिना मधेसी राजनीति नांगो देखिनेछ । राजनीतिमा सक्रिय नहुँदै सत्ता चाहिहाल्ने ! अलिकति पनि छेकबार देखियो भने दल परिवर्तन गर्ने, दलभित्र पनि घुर्की र धम्की दिने ! यस्ता प्रवृत्तिको मौसम रहेका बेला यी 'राम'हरूको प्रसंग धेरैलाई असह्य लाग्ला । अहिलेको मन्त्रिमण्डलमा पनि धेरैजना ताततातो मन्त्री बनेका छन्, उनीहरूलाई प्रीतिकर नलाग्लान् यस्ता प्रसंग । तर, सत्ताको समानान्तर आप\mनै मूल्यको सत्ता लिएर हिँड्ने यी 'राम'हरू नै जनताबीच स्थायी नेता हुनुहुन्छ । राजनीतिमा हाबी हुँदै गइरहेको भोग-प्रवृत्ति के न्यून हुनसक्छ ? राजनीतिमा बाँडीचुँडी खाउ"mको साँप-सिँढी खेल के खत्तम हुनसक्छ ? मौसमजस्तै अडानहरू परिवर्तन भइरहने र फेरिएका अवसरवादी अडानहरूको औचित्य पुष्टि गर्ने कसरत समाप्त हुनसक्छ ? भनिन्छ, दसैँ पर्व विजयको प्रतीक हो । मधेसी राजनीतिमा देखिएको महिषासुर प्रवृत्ति समाप्त होस् भन्ने कामना गर्नुबाहेक तत्काल अरू के नै गर्न सकिन्छ र ?



del.icio.us
Digg
Post your comment