सुपुर्दगी सन्धि कसका हितमा ?
कात्तिक २०-२१ गते काठमाडौंमा भएको नेपाल-भारत गृहसचिवस्तरीय बैठकले खासै महत्त्वपूर्ण निर्णय गर्न सकेन । सुपुर्दगी सन्धि, सीमा नक्सांकन, भारतीय नक्कली नोटको अबैध कारोबार नियन्त्रण, सीमा क्षेत्रका आपराधिक क्रियाकलापजस्ता विषयमा छलफल भए पनि सुपुर्दगी सन्धि र त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सुरक्षाकर्मी तैनाथ गर्ने विषयमा सम्झौता हुन नसकेकाले वार्ता असफल भएको टिप्पणी हुँदै छ । वार्ताअघि प्रधानमन्त्री माधव नेपालबाट असान्दर्भिक रूपमा नेपाल र भारतबीचको सीमाविवाद ८५ प्रतिशत समाधान भइसकेको अभिव्यक्ति आयो । सरकारका प्रवक्ता शंकर पोख्रेलले नेपालले आफ्नो भूमिबाट कुनै पनि भारतविरोधी गतिविधि हुन नदिने भनाइ बिनासन्दर्भ पोखेर भारतको ध्यानाकर्षण गराउने प्रयास गरे । भारतलाई आश्वस्त पार्नर् ठूलै कसरत गर्ने क्रममै बैठकलगत्तै सरकारले भारतीय नक्कली नोटको कारोबार नियन्त्रण गर्ने सक्रियता देखायो । तर, भारतीय सुरक्षाकर्मीले नेपाली भूमि मिचेर क्याम्प खडा गर्न थाले । भारतले दिल्लीमा भएका द्विपक्षीय बैठकमा सुपुर्दगी सन्धिमा हस्ताक्षर गर्न दबाब दिँदै आएको थियो । ०५९ फागुनमा काठमाडौंमा भएको पहिलो बैठकमा सन्धिको पहिलो मस्यौदाको पहिलो दफामै सहमति भएन । भारतले सन्धि जारी हुनुअघि-पछि त्यस्तो अभियोग छ भने त्यसमा पनि लागू हुने भनेकाले कुरा मिलेन । ०६१ माघमा भारत-नेपालका गृहसचिवबीच सन्धिमा हस्ताक्षर भएको थियो । त्यसैका आडमा ज्ञानेन्द्रले माघ १९ को कदम चाल्दा जनआन्दोलनका कारण राजतन्त्र नै ढल्यो र सन्धि लागू भएन । सन्धिमा 'एक-अर्को मुलुकले आफैँ अनुसन्धान गरी सुपुर्दगी माग गरिएका अपराधीहरू बुझाउने' बुँदा थियो । अतः नेपालले केही अपराधीलाई भारतमा बुझायो भने भारतले पनि मातृका यादवलाई सुपुर्दगी गर्यो । भारतले जनआन्दोलन ०६३ पछि सन्धिको प्रस्ताव फेर्यो । कोइराला सरकारले ०६३ आश्विन १५ मा क्याबिनेटबाट निर्णय गरी गृहमन्त्री कृष्ण सिटौलालाई आश्विन १९ गते भारत पठाउन खोज्यो । माओवादी आन्दोलनका कारण उनी दिल्ली जान नपाएपछि नयाँ प्रस्ताव रोकियो । भारतले हाल 'अनुसन्धानका लागि एक-अर्को मुलुकका जुनसुकै ठाउँमा पनि शस्त्रसहित सुरक्षाकर्मी पुग्न पाउने, बिनारोकटोक अनुसन्धान र पक्राउ गर्न पाउने' प्रस्ताव गरेको छ । अदालतको झन्झटिलो बाटोबाट नगई अरू आधिकारिक निकायले मागेमा सुपुर्दगी गर्ने कुराले उसले नेपालको अदालत र ऐनकानुनलाई लत्याउन खोजेको देखिन्छ । एक-अर्काको देशमा अभियोग लागेर भागेको व्यक्तिले किनेको चल-अचल सबै सम्पत्ति अभियुक्तसँगै बुझाउनुपर्ने अर्को प्रस्ताव पनि त्यसमा छ । सो प्रस्तावले तेस्रो मुलुकका नागरिक मात्र होइन, एक-अर्काका नागरिक पनि अपराधका अभियुक्त भए सुपुर्दगी गर्नुपर्ने माग गरेका कारण नेपालको सार्वभौमसत्ता अस्तित्वलाई नै खतरामा पार्ने हदसम्म अपमानजनक छ । प्रस्ताव गर्नुले स्पष्ट गर्छ । जबकि, ०४५ सालको सुपुर्दगी ऐन ८.१ को प्रतिबन्धात्मक वाक्यांंशले नेपाली नागरिकलाई अर्को देशमा सुपुर्दगी गर्न नपाइने व्यवस्था गरेको थियो । नेपाली सुरक्षाकर्मी भारतमा गएर बिनारोकटोक अनुसन्धान र पक्राउ गर्नपाउने कल्पनाभन्दा बाहिरको कुरा हो । तर, भारतीय सुरक्षाकर्मीले सो सन्धिमा हस्ताक्षर नहुँदै ०४८ मा बानेश्वरसम्म आएर पक्राउ गरेका थिए । नेपालले यहाँ पक्रिएका मिर्गाैला तस्करलाई बिनाछानबिन भारतीय सुरक्षा अधिकारीलाई विमानस्थलसम्म बोलाएर सुपुर्दगी गरेको थियो । वर्तमान सरकारले नेपालमा पक्राउ गरिएको रक्तचन्दनको काठ पनि बिनाछानबिन भारतकै हो भनेर बुझाएको छ । त्यसैले भारतद्वारा प्रस्तावित सुपुर्दगी सन्धिमा औपचारिक हस्ताक्षर नभए पनि त्योे लागू हुनसक्छ । भारतले हाल भारतीय माओवादी हिंसाको स्रोत नेपाल भएको र भारतीय माओवादीले नेपाली भूमि हुँदै चिनियाँ हतियार भित्र्याएको, नेपालमा बसेर पाकिस्तानीहरूले नक्कली भारु छपाइ गरी वितरण गरेको, भारतविरोधी गतिविधि गर्ने भुटानी, बर्मेली, श्रीलंकाली, पाकिस्तानी र चिनियाँहरूले नेपालमा आश्रय लिएको तथा भारतमा आपराधिक गतिविधि गरी केही व्यक्ति यहाँ लुक्दै गरेको सोह्रैआना मिथ्या आरोप लगाउँदै सन्धिमा हस्ताक्षर गर्न दबाब दिँदै आएको छ । त्यसको ठीक उल्टो, यहाँ हुने सीमापार अपराध पनि भारतबाटै बढी भइरहेको छ । यहाँ अपराध गरेर भागेकाहरू पनि भारतमै आश्रय लिएर बसेका छन् । तराईका हिंसात्मक समूहको आश्रयस्थल भारत नै हुँदै आएको छ । त्यसैले नेपालबाट भारतमा अपराध भएको र विभिन्न देशका अपराधी नेपालमा बसेको आरोपमा सत्यता छैन । नेपाली माओवादी शान्ति-प्रक्रियामा आएपछि भारतीय माओवादीसँग कुनै सम्बन्ध नरहेको तथ्य पटकपटक स्पष्ट गरिसकेको छ । अतः सुपुर्दगी सन्धि गरेमा नेपाल स्वतः भारतीय सुरक्षा छातामा पुग्नेछ, भुटानजस्तै । हुनत, भारतले अन्य छिमेकीसँग पनि सुपुर्दगी सन्धि गरेको छ । भनिन्छ, उसले चीन र पाकिस्तानसँग जुन तर्कसहित सन्धि गर्न इनकार गरेको थियो, नेपालसँग भने ऊ तिनै प्रावधान लागू गराउन उद्यत छ । अन्तर्राष्ट्रिय कानुनअनुसार सार्वभौम राष्ट्रले सुपुर्दगी गर्ने-नगर्ने उसकै इच्छामा भर पर्छ । कुनै पनि राष्ट्रको नागरिकले अर्काे राष्ट्रमा अपराध गरेर भाग्यो भने त्यसलाई सजाय दिनुपर्छ वा सुपुर्दगी गर्नुपर्छ भन्ने मान्यता रहे पनि उसलाई बाध्य भने पार्न सकिँदैन । भारतले पनि रुस, अमेरिका, बेलायत र क्यानडासँग वर्षौंवर्ष लगाएर मात्र यस्तै सन्धि गरेको छ, त्यो पनि आफ्नो सुपुर्दगी ऐनअनुकुल मात्रै । सो सुपुर्दगी ऐन सन् १९६२ अनुसार सुपुर्दगीका लागि सबुत-प्रमाणसहित माग गर्नुपर्ने र अपराध राजनीतिक हो कि होइन भनेर न्यायालयबाट जाँच गराएर न्यायिक आदेश भएमा मात्रै सुपुर्दगी गरिने प्रावधान पनि छ । त्यति मात्र होइन, उसको केन्द्र सरकारलाई राजनीतिक वा अन्य कारणवश अभियुक्तलाई सुपुर्दगी गर्नु ठीक छैन भन्ने लागेमा अभियुक्तलाई छाडिदिन सक्ने व्यवस्था पनि छ । दफा ३१ अनुसार राजनीतिक अपराध मुद्दाको हदम्याद नाघेको र दोहोरो अपराध नभएको पूर्वअपराधका सम्बन्धमा सुपुर्दगी नगर्ने त प्रस्ट प्रावधान नै छ । नेपालले बि्रटिस-भारतसँग सन् १८२७ मा पहिलोपल्ट ठग र ज्यानमारा मुद्दाका अभियुक्तलाई सुपुर्दगी गर्न सन्धि गरेको थियो । त्यसमा सन् १८३४ मा डकैती गरी फरार हुने अभियुक्तलाई पनि थपिएको थियो । सन् १९५३ मा नवीकरण गरिएको सो सन्धिले भारतीय स्वार्थसिद्ध गर्ननसक्ने भएकाले यसलाई विशेष परिवर्तन गर्नु आवश्यक ठानेको देखिन्छ । नेपालले भारतसँग सन्धि गरेको व्यहोरामै चीनसँग पनि सन्धि गर्नुपर्ने भएकाले अचेल निकै कठिनाइ भएको देखिन्छ । नेपालले भारतीय प्रस्तावबमोजिम नै सन्धिमा हस्ताक्षर गर्यो भने नेपाल अन्तर्राष्ट्रिय जगत्मा स्वतन्त्र र सार्वभौम मुलुकका रूपमा होइन, भारतकै यौटा प्रदेशका रूपमा चित्रित हुनेछ । त्यसैले नेपालले आफ्नो राष्ट्रिय हित र स्वतन्त्रतालाई ध्यानमा राखेर भारत र अन्य छिमेकीसँग सन्धि-सम्झौता गर्ने दृढ अडान राख्नैपर्छ । (देवकोटा पत्रकार हुन्)
krdevkota@gmail.com



del.icio.us
Digg
i- india le nepal lai atichar bhanda sima nage ko chha sabai nepali janta [be careful.bistarbadi india sangga sabai sandhi[treaty]kharej garnu parchha
yo surpurdagi treaty [sandi kurai nagrne
yedi india le nihu khoje ma [un] international court ma india ko karbai hunu parchha natra nepal lai atichar garnu payindaina nepal freedom contry ho
aabo nepali leaders and political partiese lai hosiyar bistarbadi india sangga treaty kunai neplal lai tholo hani nahos.aabo nepali janta nernaya garchhau jasle sandi[treaty] ma signature garchha kada international court ma karbai hunchha sabai political partiese lai janakari garda chhau hosiyar [to all political partiese and patriotism be careful.
from canada
Post your comment