Newsletter
Email:
Home | दृष्टिकोण | प्राकृतिक स्रोत र महिला हक

प्राकृतिक स्रोत र महिला हक

Font size: Decrease font Enlarge font
image

प्राकृतिक स्रोत, आर्थिक अधिकार, राजस्व बाँडफाँड समितिले तयार पारेको मस्यौदाको लक्ष्य जनआन्दोलन, अन्तरिम संविधान र संविधानसभाबाट हरेक क्षेत्र, वर्ग, जाति, लिंग र समुदायको पहिचान र अधिकार सुनिश्चित गर्नतिर केदि्रत हुनुपर्छ । नयाँ संविधान-लेखनकार्यमा प्राकृतिक स्रोतको बाँडफाँड तथा केन्द्र, प्रदेश र स्थानीय जनसंख्या समुदायको अधिकारका बारेमा यथेष्ट सुझाब जनताबाट आइसकेका छन् । ती सुझाबलाई सकारेर मस्यौदामा प्राकृतिक स्रोत-साधनको उपयोगमा आदिवासी जनजातिलगायतका स्थानीय समुदायको पहिलो अधिकारका रूपमा सुनिश्चित गनुपर्छ ।
नेपालमा रहेका विशाल प्राकृतिक स्रोत-सम्पदा आर्थिक विकासका लागि महत्त्वपूर्ण शक्तिका रूपमा रहेका छन् । ती सम्पदाको सदुपयोगबाटै आर्थिक सम्पन्नता हुन्छ, त्यसमा सबैको श्रम र सीपको परिचालन गर्न सकिन्छ । जलस्रोत, जैविक विविधता, प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालका आमजनता समयानुकूल क्षमता प्रयोग गर्न पनि निपुण छन् । जनसंख्या वृद्धि, विश्वव्यापीकरण उदारीकरण र उत्पादन स्रोतको केन्द्रीकरणका कारण श्रममा प्रत्यक्ष संलग्न हुँदै आएका र उपभोग गर्दै आएका व्यक्ति र समुदायको जनजीवन धरापमा पर्दै आएको छ । प्राकृतिक स्रोतले व्यक्ति, समुदाय र राष्ट्रको सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्ने हुनाले यसको व्यवस्थापनका लागि समानुपातिक वितरण-प्रणाली र स्थानीय स्रोत-साधनको अधिकारलाई यसमा प्रत्यक्ष आश्रति परिवारलाई वा समुदायलाई नै दिने प्रावधान हुनुपर्छ ।
प्रत्येक व्यक्तिलाई स्वच्छ एवं स्वस्थ वातावरणको हक हुनुपर्छ । वातावरणका विविध पक्षबारे अझ स्पष्ट हुनुपर्छ । वातावरणीय ह्रास र सन्तुलनका बारेमा गम्भीर ध्यान जानुपर्छ । वातावरणीय हकका कुरा गर्दा वातावरणमा महिला हकबारे कुनै उल्लेख नहुनु आश्चर्यको विषय हो । आधा जनशक्ति महिला वातावरण ह्रासका कारण प्रत्यक्ष मारमा परेका छन् । त्यसको गम्भीर असर खेप्ने महिला नै वातावरणीय हकको मूल पक्ष हुनुपर्छ । वातावरणमा सकारात्मक कदम चाल्न महिलालाई मूलधारमा राख्नुपर्छ । प्राकृतिक स्रोत-सम्पदामाथि पहुँच र हकका लागि वातावरणीय नीति-निर्माणमा महिलाको अनिवार्य संलग्नता चाहिन्छ ।
देशको ग्रामीण भेगमा रहेका ६५ प्रतिशत महिला घरेलु वायु प्रदूषणबाट ग्रस्त छन् । त्यसको नराम्रो नतिजा महिला र बालबालिकाको स्वास्थ्यमा देखिएको छ । प्रश्न उठ्छ, स्वस्थ वातावरणमा बाँच्न पाउने हक महिलालाई छ कि छैन ? छ भने त्यो हक स्थापित गरिने प्रावधान संविधानमै किटान गर्नुपर्छ । वातावरणीय सूचनाको हक, त्यसमाथि पहँुच र त्यसको उपभोगका लागि समुचित व्यवस्थाको बुँदा संविधानमै थपिनुपर्छ ।
देशको १७ प्रतिशत कुल क्षेत्र कृषियोग्य जमिनको उत्पादकत्व पूर्णरूपमा उपयोग भएको पाइँदैन । उपयोग नहुनुको कारण हो— जमिनमाथिको स्वामित्व र अधिकार स्पष्ट नहुनु । त्यसको उपयोगका लागि गरिने वैज्ञानिक भूमिसुधार कार्यक्रम लागू गर्दा कानुनबमोजिम क्षतिपूर्ति दिने व्यवस्था गर्नुपर्छ । सार्वजनिक हितका लागि कुनै व्यक्तिको प्रयोगमा नआएको सम्पत्ति अधिकरण गर्दा, त्यस्तो सम्पत्तिउपर कुनै अधिकार सिर्जना गर्दा कानुनद्वारा निर्धारण गरेबमोजिम हुनेछ भन्नु जरुरी छ ।
कृषि उत्पादकत्व राज्यको मूल आर्थिक क्रियाकलाप भए पनि कृषि प्रणालीलाई आधुनिकीकरण गरी उत्पादन वृद्धिमा खासै कार्यक्रम तय भएको पाइँदैन । प्रत्येक बजेट भाषण, नीति तथा कार्यक्रममा कृषक र कृषिमा आधारभूत स्रोतको व्यवस्थापन गरी उत्पादनमा वृद्धि ल्याउने घोषणा गरिन्छ । अब किसानलाई प्रोत्साहन दिने र कृषिक्षेत्रको व्यवसायीकरण गर्ने, कृषकका श्रमको मूल्यांकन गरी गरिबी निवारणमा योगदान पुग्ने व्यवस्था गरिनुपर्छ ।
आजसम्म कुनै पनि कार्ययोजनाले उत्पादनका स्रोत-साधनको व्यवस्थापन, परम्परागत सीप-ज्ञानको अनुसन्धान र विकास अनि जैविक स्रोत र कृषि प्रणालीको अन्तरसम्बन्ध, स्थानीय समुदायको सहभागिता र अधिकारलाई स्थापित गर्ने कार्य गरेको पाइँदैन । राज्यले सशस्त्र द्वन्द्व र गरिबीका कारण कृषिकार्यमा संलग्न श्रमशक्ति, विशेषतः युवाशक्ति देशबाटै पलायन हुनुपर्ने स्थितिबारे, कृषिमा महिला सहभागिता वृद्धिबारे मूल्यांकन गरेको छ्रैन । प्राविधिक ज्ञान, सीप सेवा-सुविधाबाट ६६ प्रतिशत महिला कृषक नै वञ्चित हुनुपरेको तथ्यमाथि पनि ध्यान दिइएको छैन । प्राकृतिक स्रोतको संरक्षण, संवर्धन एवं दिगो उपभोग गर्दा वन, जंगल, जमिन, खनिज, जैविक विविधताको ठूलो आर्थिक सम्भाव्यता रहेको तथ्यतर्फ ध्यान दिनुपर्छ । संविधान-लेखन र राज्य पुनर्संरचनाका क्रममा ती पक्षको असमान भौगोलिक वितरण, परम्परागत व्यवस्थापन, नीतिगत अपर्याप्तताजस्ता कुरा पनि गाँसिएर आउँछन् । अतः नयाँ संविधान र राज्यले प्राकृतिक स्रोत र तिनका सम्भावनाको सही आँकलन, उचित व्यवस्थापन र समन्यायिक वितरण-प्रणाली खडा गर्नुपर्छ ।
दिनानुदिन बढ्दो भौतिक पूर्वाधार, उद्योग-धन्दा र बाटोघाटोले वातावरणीय ह्रास पनि गरेका छन् । त्यसबाट पीडित व्यक्ति र समुदायको हितमा वातावरण प्रदूषण तथा ह्रासको नियन्त्रण गर्ने तथा कानुन र नियम अवलम्बनमा केही बाध्यात्मक व्यवस्था गर्नुपर्छ । प्राकृतिक स्रोतलाई व्यापारिक उपयोग गर्दा त्यसमा संलग्न वर्ग र समुदायको पुस्तौँदेखिको योगदानलाई मूल्यांकन गर्नुपर्छ अनि ती वर्ग र समुदायको अभिवृद्धिका लागि लाभको समन्यायिक वितरण हुनुपर्छ ।
संघीय सरकार, प्रादेशिक र स्थानीय निकायको अधिकार बाँडफाँड गर्दा केन्द्र, प्रदेश र स्थानीय निकायको सम्बन्ध बलियो बनाउने कुरा संविधानमै स्पष्ट हुनुपर्छ । संघीय प्रणालीमा प्राकृतिक स्रोत-साधनको पहिचानसहितको न्यायिक बाँडफाँडको सिद्धान्त अपनाउनुपर्छ । असमान आर्थिक वितरणले प्रदेश-प्रदेशभित्र द्वन्द्व निम्त्याउने हुनाले आर्थिक क्रियाकलाप र वितरणमा समन्यायिक सिद्धान्त अपनाउनुपर्छ । स्रोत-साधनको परिचालनबाट देखापर्ने प्रतिकूल वातावरणको न्यूनीकरण, वातावरण अनुकूलन तथा संरक्षणका लागि स्थानीय, प्रदेश र केन्द्रका नीति तथा कार्यक्रम, अधिकार र दायित्व पनि स्पष्ट हुनुपर्छ । ती निकायमा जल-जमिन, जंगल, जैविक उत्पादनजस्ता स्रोत-साधनप्रतिको अधिकार र बाँडफाँड पनि संविधानमै उल्लेख हुनुपर्छ । एक प्रदेशको प्रयोगबाट अर्को प्रदेशलाई हुन जाने क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ, अन्यथा यसबाट द्वन्द्व उत्पन्न हुन सक्छ । नीति तथा कार्यक्रम तय गर्दा प्रदेश-प्रदेशबीचको सहमतिलाई आधार बनाइनुपर्छ । वातावरणीय सुशासनलाई सुदृढ गर्दै केन्द्र, संघ र स्थानीय निकायलाई सबल बनाई वातावरण व्यवस्थापन तथा वातावरणमैत्री प्रविधिको प्रयोग गर्दै आवास एवं पूर्वाधारको विकास गर्ने र स्वच्छ विकास संयन्त्र तयार गर्ने काम गर्नुपर्छ । अब जनताको आवासको हकलाई पनि स्थापित गरिनुपर्छ । यसलाई व्यवस्थित गर्दा प्राकृतिक सम्पदाको क्षति र वातावरणको ह्रास हुन नदिने प्रावधान पनि उल्लेख गर्नुपर्छ । यसरी हेर्दा राष्ट्रिय प्राकृतिक स्रोत आयोग बनाउनु जरुरी हुन्छ । त्यसमा सम्बन्धित विषयविज्ञ मात्र होइन, दशकाँैदेखि त्यस क्षेत्रमा कार्यरत व्यक्तिको संलग्नता पनि हुनुपर्छ । किनभने, 'पढेरभन्दा परेर जानिन्छ' भन्ने उखानलाई बिर्सन मिल्दैन ।
(उपाध्याय नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्)

Subscribe to comments feed Comments (3 posted):

Gita on 15/12/2009 12:20:02
avatar
HAWA Name pani ramro ani dimakh pani yak dam ramro hai k boleko jasto lageko hola hajur lai ???/
Thumbs Up Thumbs Down
0
Pushpa on 15/12/2009 09:28:26
avatar
Dear Mahalaxmi Ji,
How do you mean ? What do you want to add in the new constitution ? I think the issue of environment is being the matter to talk since PM to you like leaders. Nobody know and recommend what to do exactly. your article is also seems one of the crowd. First change the economy of the nation, change the econoy of a home then No woman of the home go to cook on firewood. My mother will not cook on firewhood with full of smoke if I could manage gas, cylinders and electricity. Why are you disseminating the surface matter ? go for to change the root cause of the problem. If my mother cook on firewood, you do not think I will also affected living on the same room. I hope you people will not write just to write and publicize your wisdom.
Thank You!
Thumbs Up Thumbs Down
1
HAWA on 15/12/2009 08:07:39
avatar
हा हा हा.. आफ्नै सरिर मा त तिम्रो हक छैन नानि..
Thumbs Up Thumbs Down
1
total: 3 | displaying: 1 - 3

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
2.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?